प्रधान मन्त्री पाउन प्रचण्डद्वारा यज्ञ , राष्ट्रपति हटाउन नयाँ खेल

User Rating: / 0
PoorBest 
राज्यशक्ति प्राप्तिका लागि पूर्वराजा ज्ञानेन्द्रले यज्ञ, हवन र बलि दिने कार्य छोडे पनि सोही कार्यको थालनी जनवादी क्रान्तिका निम्ति अगुवाइ गरिरहनुभएका माओवादी अध्यक्ष प्रचण्डले गर्नुभएको छ। अध्यक्ष प्रचण्डले राज्यश्री प्राप्ति र सरकार बनोस् भनी गत मङ्सिर २४ देखि २९ सम्म काठमाडौंमा एक विशेष हवन कार्य गराउनुभएको समाचार प्राप्त भएको छ। ढिलो गरी प्राप्त जानकारीअनुसार प्रचण्डका मित्र एवम् ख्यातिप्राप्त राष्ट्रिय उद्यमी अजय सुमार्गीको बानेश्वरस्थित निवासस्थानमा हवन गर्न लगाएपछि ६ दिनभित्र प्रचण्ड आफ्नो परिवार (पत्नी सीता र छोरा प्रकाश) सहित ६ पटक नै सहभागी हुन त्यहाँ पुग्नुभएको थियो। सहश्रचण्डी महायज्ञ नाम दिइएको उक्त यज्ञको संयोजन मुक्तिनाथ बाबा उर्फ कमलनयनाचार्य र गोपाल गुरुले गर्नुभएको थियो। हवनमा चवन्न (५४) ब्राह्मणलाई यज्ञादी कार्यका लागि खटाइएको थियो। ती ब्राह्मणलाई मङ्सिर २३ गते बेलुका नै सुमार्गीको घरमा पुर्या्इएको थियो भने गोपनियताका लागि उनीहरू कसैलाई पनि बाहिर निस्कन दिइएको थिएन। ब्राह्मणहरूले २९ गते हवन सकिएपछि मात्र बाहिरी संसारसँग साक्षात्कार गर्ने मौका पाएका थिए। ६ दिनभित्र त्यहाँ गणेशमन्त्र पाठ, हवन, रुद्राभिषेक र राज्यप्राप्ति यज्ञजस्ता कार्य सम्पन्न गरिएका थिए। प्रचण्डले यज्ञमा विजयीश्री प्राप्त होस् र सरकार बनोस् भनी बरदान माग्नुभएको र मुक्तिनाथ बाबाले 'राष्ट्रवादी तपाईं (माओवादी) हरू नै भएकोले राष्ट्रको करुणा तपार्इंहरूबाट हुनसक्छ, अरूबाट हुँदैन' भन्दै आशीर्वाद दिनुभएको थियो। यज्ञमा खटिएका चवन्न ब्राह्मणहरूलाई प्रतिव्यक्ति प्रतिदिन रु. १ हजारका दरले दक्षिणा तथा रातो वस्त्र उपहारस्वरूप प्रदान गरिएको थियो। देशका सबैभन्दा क्रान्तिकारी नेता जसले हिन्दुराष्ट्रको परिचय हटाउन सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरे, तिनैले गराएको यज्ञमा सहभागी हुन पाउँदा ब्राह्मणहरू निकै नै प्रसन्न भएका छन् र प्रचण्डप्रति उनीहरूले हृदयदेखि नै कृतज्ञता जाहेर गरेका छन्। यज्ञमा प्रचण्डको तर्फबाट गर्नुपर्ने कतिपय कार्य भने माओवादी सभासद् एवम् चाउचाउ उद्यमी कृष्ण आचार्यले गर्नुभएको थियो। कमलनयनाचार्यको विशेष निकटका मानिनुहुने कृष्ण आचार्यले ६ दिनको अधिकांश समय यज्ञमै बिताउनुभएको थियो। यस यज्ञपछि प्रचण्डलाई महाशक्ति प्राप्त हुने विश्वास कमलनयनाचार्य, गोपाल गुरु, अजय सुमार्गी, कृष्ण आचार्य, सीता दाहाल, प्रकाश दाहाल र स्वयम् प्रचण्डले पनि विश्वास गर्नुभएको छ। तर, प्रचण्डलाई यज्ञकै भरमा कसरी शक्ति र सफलता प्राप्त होला यो भने प्रतीक्षाको विषय बनेको छ। राष्ट्रपति हटाउन नयाँ खेल नेपाली राजनीति दिन प्रतिदिन जटिल र अन्योलग्रस्त बन्दै जाँदा परिस्थिति आफ्नो पक्षमा पार्न माओवादी र सरकारबीच होडबाजी सुरु भएको छ। पछिल्लोपटक 'राष्ट्रपतिको कदम' र 'नागरिक सर्वोच्चता'को विषय नै ओझेलमा पर्नेगरी राष्ट्रियताको मुद्दा उठाए पनि 'राष्ट्रपति' प्रकरणमा आफ्नो हात माथि पार्न माओवादी नेतृत्व भित्रभित्रै सक्रिय रहेको पाइएको छ। पछिल्लो सक्रियता उनीहरूले सर्वाेच्च अदालतको आसपासमा केन्द्रित गरेका छन्। तात्कालिक प्रधानसेनापति रुक्मांगद कटवाललाई पदमुक्त गर्ने सरकारी निर्णय गैरसंवैधानिक एवम् अनुपयुक्त रहेको भन्दै राष्ट्रपतिले कटवाललाई नै पदमा वहाल रहेर काम गर्न निर्देशन जारी गर्नुभएको थियो। राष्ट्रपतिको यो कदम नै असंवैधानिक र गैरकानुनी थियो भन्दै त्यसलाई सच्याउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको मुद्दा जसरी पनि जित्नुपर्ने तयारी माओवादीले गरेको बुझिएको छ। उनीहरू प्रधानन्यायाधीश अनुपराज शर्मा आफ्नो पक्षमा भएको ठान्छन् र उहाँबाट राष्ट्रपतिको कदम असंवैधानिक र गैरकानुनी नै थियो भन्ने आसयको फैसला आउनेछ भन्नेमा पूर्ण विश्वस्त छन्। यससम्बन्धी मुद्दाको सुनुवाइमा सर्वोच्च अदालतले लिएको तदारुकतालाई माओवादीहरूले त्यसै अर्थमा बुझेका छन्। सर्वोच्च अदालतले राष्ट्रपतिको विपक्षमा फैसला गरेमा डा. रामवरण यादवले पदबाट राजीनामा दिनुपर्ने अवस्था आउनेछ र त्यसपछि परिस्थिति आफ्नो अनुकूल बन्नेछ भन्ने विश्वासमा माओवादी रहेको छ र त्यही विश्वासलाई सार्थक तुल्याउन माओवादी नेतृत्व अनेक कसरत पनि गर्दै छ। माओवादी नेतृत्वले प्रधानन्यायधीश अनुपराज शर्मासँग 'कुरा मिलाइसकिएको' दाबी आफ्ना निकटवर्तीहरूसँग गर्ने गरेको छ। तर, प्रधानन्यायाधीश शर्मा त्यसरी बहकाउ, धम्की या प्रलोभनमा नपर्ने व्यक्ति हुनुभएको हुनाले माओवादीको कुरामा विश्वास गरिहाल्ने स्थिति भने छैन। एक सूत्रका अनुसार यस मुद्दामा राष्ट्रपतिको विपक्षमा फैसला होस् भन्ने चाहना काङ्गे्रस सभापति गिरिजाप्रसाद कोइरालाको पनि रहेको छ। कोइराला पनि राष्ट्रपतिले पद त्याग्ने स्थिति बनोस् भन्ने चाहनुहुन्छ र त्यसनिम्ति उहाँले आफ्नै तहबाट विशेष पहल पनि गरिरहनुभएको छ। भनिन्छ, उहाँ राष्ट्रपति बन्न चाहनुहुन्छ, तर देखिएर डा. रामवरणविरुद्ध केही बोल्ने या गर्ने स्थितिमा भने हुनुहुन्न। कटवाल प्रकरणमा पनि कोइरालाले आफ्नी सुपुत्री सुजाता कोइरालालाई माओवादी अध्यक्ष एवम् तात्कालिक प्रधानमन्त्री प्रचण्डकै पक्षमा बोल्न लगाउनुभएको थियो। सुजाता कोइराला त्यसबेला खुलेरै माओवादीद्वारा प्रस्तावित सेनापति कुलबहादुर खड्काको पक्षमा उभिनुभएको थियो। अहिले पनि सभापति कोइराला भित्रभित्रै रामवरणलाई राष्ट्रपतिबाट हटाएर आफू बन्ने खेलमा लाग्नुभएको छ र त्यसनिम्ति अदालतभन्दा उपयुक्त माध्यम अरू हुन नसक्ने भएकोले सर्वोच्च अदालतलाई प्रभावित गर्न कोइराला लागिपर्नुभएको छ। ज्ञातव्य छ, प्रचण्डले कोइरालासमक्ष पहिले राष्ट्रपति नबनाइएकोमा पश्चात्ताप गर्दै अब आफूहरू राष्ट्रपति बनाउने पक्षमा रहेको विश्वास कोइरालालाई दिलाउनुभएको छ। घटना र विचार